आफ्नो व्यवहार परिवर्तन गर्न आवश्यक छ भनेर स्वीकार गर्न धेरै शक्ति चाहिन्छ।
यस पृष्ठले तपाईंलाई सबैभन्दा राम्रो पुरुष, जीवन-साथी (पार्टनर), बुबा वा परिवारको सदस्य बन्ने तपाईंको यात्रामा हामी कसरी मद्दत गर्न सक्छौँ भनेर वर्णन गर्दछ।
आफैलाई सोध्नुहोस्:
- के मैले कहिल्यै परिवारको सदस्यलाई ठुलो स्वरले कराएको वा चिच्याएको छु?
- के मैले कहिल्यै परिवारको सदस्यलाई हानेको, थप्पड हानेको, लात हानेको, धकेलेको वा ठेलेको छु – वा धम्की दिएको छु?
- के मैले कहिल्यै परिवारको सदस्यलाई नराम्रो वा अशिष्ट नामले बोलाएको छु? के मैले उनीहरूको निरन्तर आलोचना गरिरहेको छु?
- के मैले कहिल्यै मेरो जीवन-साथी (पार्टनर) लाई उनको आफ्नै प्रयोगको लागि पैसा खर्च गर्नबाट रोकेको छु?
- के मैले कहिल्यै परिवारको सदस्यलाई त्रसित पारेको छु?
- के मैले कहिल्यै परिवारको सदस्य अगाडि वा उनीहरू माथि कुनै वस्तु फ्याँकेको छु, जस्तै गिलास, कुर्सी वा टिभीको रिमोट?
- के मैले कहिल्यै मेरो जीवन-साथी (पार्टनर) लाई उनले गर्न नचाहेको यौन कार्य गर्न दबाब दिएको छु?
- के मैले कहिल्यै मेरो जीवन-साथी (पार्टनर) लाई उनले गर्न चाहेको काम गर्नबाट रोक्न खोजेको छु? (उदाहरणका लागि, साथीहरूसँग बाहिर जानु, जागिर खानु, केही कुरा अध्ययन गर्नु)
- के मैले कहिल्यै मेरो एलजीबीटीआईक्युए (LGBTIQA+) जीवन-साथी (पार्टनर) लाई सार्वजनिक गर्ने धम्की दिएको छु?
यदि तपाईंले यी प्रश्नहरू मध्ये कुनै एक वा बढीमा “हो” भनेर उत्तर दिनुभएको छ भने, तलका हाम्रा सेवाहरूले तपाईंलाई मद्दत गर्न सक्छन्।
मेन्स रेफरल सर्भिस – १३०० ७६६ ४९
२४ सै घण्टा, वर्षको ३६५ दिनै उपलब्ध छ
मेन्स रेफरल सर्भिस (MRS) ले तपाईंलाई व्यवहार परिवर्तन कार्यक्रम, अभिभावकत्व कार्यक्रम, मदिरा तथा अन्य लागू पदार्थ कार्यक्रम, स्वास्थ्य सहायताहरू तथा तपाईंको क्षेत्रमा आवास सेवाहरू सम्बन्धी परामर्श तथा जानकारी प्रदान गर्न सक्छ।
यो सेवा वर्षभरि, हप्ताको सातै दिन, २४ सै घण्टा उपलब्ध छ – त्यसैले तपाईंलाई आवश्यक पर्दा सहायता उपलब्ध छ।
मेन्स रेफरल सर्भिसले कसलाई सहयोग गर्छ?
- आफ्नो व्यवहार परिवर्तन गर्न चाहने दुर्व्यवहारपूर्ण व्यवहार गरेका वा गरिरहेका पुरुषहरू।
- पुरुषको दुर्व्यवहारपूर्ण व्यवहारहरूबाट प्रभावित परिवारका सदस्यहरू।
- हिंसा गरिरहेका हुनसक्ने वा घरेलु तथा पारिवारिक हिंसा अनुभव गरिरहेका मानिसहरूका साथी, परिवार वा सहकर्मीहरू, जसले उनीहरूलाई कसरी सहयोग गर्ने भनी बुझ्न चाहन्छन्।
- हिंसा गरिरहेका हुनसक्ने वा हिंसा अनुभव गरिरहेका सेवाग्राहीलाई सहयोग गर्न चाहने व्यावसायिक व्यक्तिहरू।
जब तपाईं मेन्स रेफरल सर्भिसमा फोन गर्नुहुन्छ:
- तपाईंले आफ्नो परिचय नखुलाउन सक्नुहुन्छ
- तपाईंको कुरा सुनिन्छ र सम्मानपूर्वक व्यवहार गरिन्छ
- तपाईंले आफ्नो व्यवहार परिवर्तन गर्ने दिशामा अर्को कदम चाल्न मद्दत गर्न सक्ने स्थानीय सेवाहरूको बारेमा जानकारी प्राप्त गर्नुहुनेछ।
सहयोग प्राप्त गर्न १३०० ७६६ ४९१ मा सम्पर्क गर्नुहोस्। तपाईं निःशुल्क अनुवाद तथा दोभाषे सेवा (टिआईएस नेशनल;TIS National) वा हाम्रो वेबच्याट प्रयोग गरेर यो सेवामा संवाद गर्नको लागि मद्दत प्राप्त गर्न सक्नुहुन्छ।
ब्रीफ इन्टरभेन्सन सर्भिस
ब्रीफ इन्टरभेन्सन सर्भिस (BIS) एक राष्ट्रिय टेलिफोन परामर्श कार्यक्रम हो जसले तपाईंलाई पुरुषहरूको व्यवहार परिवर्तन कार्यक्रममा पहुँच गर्न पर्खिरहेको बेला मद्दत गर्न सक्छ। यदि तपाईं बसोबास गर्ने ठाउँमा कुनै कार्यक्रम उपलब्ध छैन वा तपाईंलाई अङ्ग्रेजी बोल्न आउँदैन भने पनि यसले मद्दत गर्न सक्छ।
ब्रीफ इन्टरभेन्सन सर्भिस एक छोटो अवधिको टेलिफोन सहायता कार्यक्रम हो, जुन केही सत्रहरू मार्फत प्रदान गरिन्छ। यो कार्यक्रमले तपाईंलाई निम्न कुराहरूको लागि मद्दत गर्न सक्छ:
- आफ्नो व्यवहार बुझ्न
- तपाईंले तपाईंको आफ्नो व्यवहारको लागि आफै जिम्मेवारी लिन कसरी सिक्न सक्नुहुन्छ भनी अन्वेषण गर्न
- सुरक्षित तथा स्वस्थ सम्बन्ध राख्ने र सुरक्षित परिवार निर्माण गर्ने नयाँ तरिकाहरू सिक्न
यदि तपाईं ब्रीफ इन्टरभेन्सन सर्भिसमा पहुँच गर्न खोज्दै हुनुहुन्छ भने, तपाईंले सर्वप्रथम १३०० ७६६ ४९१ मा मेन्स रेफरल सर्भिसमा सम्पर्क गर्नुपर्ने हुन्छ। एक परामर्शदाताले तपाईंको कुरा सुन्नुहुनेछ र त्यसपछि तपाईंलाई ब्रीफ इन्टरभेन्सन सर्भिसमा पहुँच गराउनमा मद्दत गर्नुहुनेछ।
तपाईं निःशुल्क अनुवाद तथा दोभाषे सेवा (टिआईएस नेशनल;TIS National) वा हाम्रो वेबच्याट प्रयोग गरेर यो सेवामा संवाद गर्नको लागि मद्दत प्राप्त गर्न सक्नुहुन्छ।
तपाईंको आफ्नो गोप्य कुरा तथा गोपनीयता
यी मेन्स रेफरल सर्भिस र ब्रीफ इन्टरभेन्सन सर्भिस दुवै नो टु भायोलेन्स (NTV) द्वारा सञ्चालित छन्। नो टु भायोलेन्स गुणस्तरीय सेवा प्रदान गर्न र हाम्रा सेवाहरू पहुँच गर्ने र प्रयोग गर्ने सबै मानिसहरूको अधिकारलाई कायम राख्न प्रतिबद्ध छ।
गोपनीयता ऐन १९८८ (Cth) अन्तर्गत, नो टु भायोलेन्सले कसरी तपाईंको व्यक्तिगत जानकारी प्रयोग गर्नेछौं भन्ने जानकारी प्रदान गर्न आवश्यक छ। तपाईंको सुरक्षा वा अरूको सुरक्षाको लागि चिन्ता नभएसम्म, वा यो जानकारी साझा गर्न हामीलाई कानुनी आवश्यकता नभएसम्म तपाईंको जानकारीको गोपनियता कायम गरिन्छ र गोप्य राखिनेछ।
जब तपाईंले हामीलाई सम्पर्क गर्नुहुन्छ, तपाईंको व्यक्तिगत जानकारी प्रयोग गर्न अनुमति दिन चाहनुहुन्छ कि चाहनुहुन्न भनेर तपाईंलाई सोधिनेछ, ताकि हामी तपाईंलाई सहायता गर्न सकौँ। हाम्रा सेवाहरू पहुँच गर्ने व्यक्तिहरूको सामान्य जानकारी अनुसन्धान तथा रिपोर्टिङ प्रयोजनको लागि प्रयोग गर्न सकिनेछ – उदाहरणका लागि, प्रत्येक राज्य वा क्षेत्रबाट सम्पर्क गर्ने व्यक्तिहरूको संख्या। तपाईंको फोन कल रेकर्ड गरिनेछ र गुणस्तर तथा प्रशिक्षण प्रयोजनका लागि प्रयोग गर्न सकिन्छ।
तपाईंको अधिकार र जिम्मेवारीहरूको बारेमा थप जानकारीको लागि र हाम्रो गोपनीयता नीति पढ्न कृपया https://ntv.org.au/about-us/privacy/ हेर्नुहोस्। तपाईंले प्रतिक्रिया कसरी दिने वा गुनासो कसरी गर्ने भन्ने बारे पनि जानकारी पाउन सक्नुहुन्छ।
अनुवाद तथा दोभाषे सेवा (टिआईएस नेशनल;TIS National) मा कसरी पहुँच गर्ने
यो अनुवाद तथा दोभाषे सेवा (टिआईएस नेशनल;TIS National) एक नि:शुल्क सेवा हो जसले तपाईंलाई अङ्ग्रेजी बोल्न आउँदैन र मेन्स रेफरल सर्भिसमा कुराकानी गर्न चाहनुहुन्छ भने मद्दत गर्न सक्छ।
टिआईएस नेशनल (TIS National) को सेवा प्रयोग गर्न:
- आफ्नो फोनमा १३१ ४५० डायल गर्नुहोस्।
- अपरेटरलाई तपाईंलाई आवश्यक पर्ने भाषा भन्नुहोस्।
- यदि तपाईं चाहनुहुन्छ भने, आफ्नो दोभासेको लिङ्ग छनोट गर्न सक्नुहुन्छ (यो उपलब्धतामा निर्भर गर्दछ)।
अपरेटरले तपाईंलाई तपाईंको भाषा बोल्ने दोभाषेसँग जोड्नेछ, जसले तपाईंलाई मेन्स रेफरल सर्भिससँग कुराकानी गर्न सहायता गर्नेछ।
यदि तपाईंलाई लाग्छ कि तपाईंको कुराकानी ३० मिनेट भन्दा लामो हुनेछ भने, कृपया दोभाषेलाई थाहा दिनुहोस् ताकि तिनीहरूले तपाईंको लागि लामो अपोइन्टमेन्ट बुक गर्न सक्छन्।
वेबच्याट
यदि तपाईं अनलाइन फारम प्रयोग गरेर परामर्शदातासँग कुरा गर्न चाहनुहुन्छ भने, तपाईं हाम्रो मेन्स रेफरल सर्भिस वेबच्याट मा पहुँच गर्न सक्नुहुन्छ।
एकचोटि तपाईंलेलिङ्कमा क्लिक गर्नुभयो भने, वेबच्याट फारम वेबपेजमा स्वतः खुल्नेछ। केवल आफ्नो विवरणहरू प्रविष्ट गर्नुहोस् र सेवाबाट प्रतिक्रियाको लागि पर्खनुहोस्।
कृपया ध्यान दिनुहोस् कि हाम्रो वेबच्याट अङ्ग्रेजीमा मात्र उपलब्ध छ। यदि तपाईं अङ्ग्रेजीमा पढ्न र लेख्नमा विश्वस्त हुनुहुन्छ भने, तपाईंले यसलाई उपयुक्त विकल्पको रुपमा पाउन सक्नुहुन्छ।
यो अनुवादित वेबपेज र यहाँ सूचीबद्ध सेवाहरू अस्ट्रेलियाली सरकारको सामाजिक सेवा विभागद्वारा वित्त पोषित छन्।